गोलकीपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको नेपाली फुटबल टोली बिहीबार बङ्गलादेश प्रस्थान गरेको छ । मैत्रीपूर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टोलीले बङ्गलादेशको एक हप्ते बसाइमा घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेर फर्किने छ ।

लामो समयपछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि बङ्गलादेश जाँदै गर्दा निकै उत्साहित देखिएको छ । बुधबार सार्वजनिक गरिएको राष्ट्रिय टोलीमा आठ नयाँ अनुहारले स्थान बनाउँदा अभ्यासको क्रममा चोट भोगेका रोहित चन्द भने टोलीबाहिर रहेका छन् । यस्तै अन्य सात खेलाडीमा कोरोना देखिएपछि ती खेलाडीको भ्रमण स्थगित भएको छ र उनीहरु आइसोलेशनमा छन् ।

नयाँ जर्सी पाउनेमा दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र इलामका छिरिङ गुरुङ पहिलो पटक सिनियर टोलीमा अटाएका हुन् । मैत्रीपूर्ण खेलका लागि बुधबार गरिएको सामान्य बिदाइ कार्यक्रमपछि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले एक हप्ताको अभ्यासले खेलाडीको फिटनेसमा सुधार आएको र एक हप्ताकाे बङ्गलादेश बसाइ थप फलदायी हुने अपेक्षा व्यक्त गर्नुभयो ।

नेपालले कात्तिक २८ र मङ्सिर २ गते बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । कोरोनाको महामारीपछि फुटबलमा फर्किन पाउँदा खेलाडीमा उत्साह थपिएको कप्तान किरण चेम्जोङले बताउनुभयो । यद्यपि महामारीका बीच सुरु भएको छोटो अभ्यासले मैत्रीपूर्ण खेल निकै चुनौतीपूर्ण भएको प्रतिक्रिया व्यक्त गर्नुभएको छ ।

यस्तै टोलीका फरवार्ड भरत खवासले फुटबलमा फर्किन पाउँदा निकै खुसी लागेको बताउनुभयो । साथै बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलले टोलीलाई अनुभव र नयाँ अनुहारलाई पनि सहयाेग पुग्ने उहाँले बताउनुभयो । नयाँ खेलाडीमा सम्भावना भएको भन्दै टोलीले मैत्रीपूर्ण खेलमा सुखद नतिजा निकाल्नेमा खवास विश्वस्त देखिनुहुन्छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रस्थान गर्नुअघि टोलीको कोरोना पीसीआर परीक्षण गरेको थियो । त्यस परीक्षणमा दुई खेलाडीमा कोरोना देखिएको थियो । टोलीले बङ्गलादेशमा एक हप्ता बिताएपछि मात्रै मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...